पैँचो पसलका अग्र्यानिक उत्पादन पोखरामा पनि

पोखरा, १६ वैशाख । गुल्मीको बलेटक्सारबाट लगभग दुई वर्षअघिदेखि स्थानीय उत्पादन बुटवलबजारमा ल्याएर सुरु गरिएको पैँचो पसल प्रालिले छोटो समयको अन्तरालमा पोखरामा पनि आफ्नो व्यापार विस्तार गर्ने भएको छ ।

‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल मन्त्रका साथ सुरु भएको पैँचो पसल प्रालिले आफ्नै उत्पादनसहित हाल मुलुकका प्रमुख सहर काठमाडौँ, नेपालगन्ज, भैरहवा र बुटवल हुँदै पर्यटकीय नगरी पोखरामा पनि बजारीकरण सुरु गरेको हो । विगतमा फलफूल एवम् गोरस बिक्री गरे पाप लाग्छ भन्ने सो क्षेत्रका कृषकको परम्परागत सोचलाई परिवर्तन गर्दै ग्रामीण उत्पादनलाई बजारीकरण गरी कृषकको आयआर्जनमा अभिवृद्धि गर्नाका साथै उच्च पहाडी भागमा उत्पादित वस्तुको स्वाद बजारका उपभोक्तालाई चखाउने ध्येयका साथ पैँचो पसल सुरु गरिएको प्रालिका प्रबन्ध निर्देशक धु्रव न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँघरमा छिमेकी बीचमा गर्जो टार्न सापट लिइने वस्तुलाई पैँचो भन्ने शब्दमार्पmत सुरु गरिएको उक्त अभियानमा हाल गुल्मीसहितका पाल्पा, अर्घाखाँची, रुकुम, रोल्पा, कालीकोट, जुम्लाका ५० हजार कृषक यस प्रालिमा आबद्ध भई प्रत्यक्षरुपमा लाभ लिइरहेका छन् ।

बढ्दो युवाको विदेसिने क्रमलाई रोक्दै स्वरोजगार अभिवृद्धि गर्ने सोचका साथ साढे दुई वर्षअघि ३३ जना युवाको पहलमा सुरु भएको सो प्रालिमा हालसम्म रु १५ करोडभन्दा बढी लगानी भइसकेको छ । “बजारमा गुणस्तरहीन एवम् अखाद्य वस्तुको बिगबिगी भइरहेको वर्तमान अवस्थामा पैँचो पसलले पहाडी क्षेत्रका कृषकले उत्पादन गरेका अर्गानिक कृषि उपजलाई प्राथमिकताका साथ बजारमा व्यवस्थापन गर्दै आएको छ,” उहाँले भन्नुभयो, “हाल कार्यक्रम सञ्चालन भएका जिल्लामा ५० वटा सङ्कलन केन्द्र रहेका छन् ।”

हाते प्रविधिमार्पmत अचार, चुक, दाललगायत विभिन्न खाद्य वस्तुको परीक्षणका रुपमा बुटवलबाट बिक्री सुरु गरेको पैँचो कार्यक्रमले गत वैशाख महिनादेखि अत्याधुनिक प्रशोधन कारखानामार्पmत २७ प्रकारका खाद्य वस्तु उत्पादन गर्दै बजारमा ल्याएको प्रबन्ध निर्देशक न्यौपानेको भनाइ छ ।

पैँचो पसल प्रालिमा आठ प्रकारका अचार, विभिन्न प्रकारका जुस, फापरको पीठो, कोदोको पीठो, परम्परामा सीमित सिन्की, मस्यौरा तथा जुम्लाको सिमी र पहाडी जिल्लामा उत्पादित मकैको आटो (च्याख्ला) जस्ता खाद्य वस्तु प्याकेजिङ गरी बजारमा ल्याएको बताउँदै उहाँले भन्नुभयो, “आगामी दिनमा बाग्लुङ, पर्वत र स्याङ्जा जिल्लाका किसानसँग परियोजना पु¥याउने लक्ष्य रहेको छ ।”

पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन कम हुन्छ भन्ने भ्रम पैँचो पसलसँग आबद्ध कृषकले तोडिदिएको बताउँदै प्रबन्धक न्यौपाने भन्नुभयो, “सम्पूर्ण उत्पादनको बजारीकरणको जिम्मेवारी प्रालिले लिएको कारण पहाडमा उत्पादन हुने तर खेर गइरहेका खाद्य वस्तु नै प्रशोधन केन्द्रका कच्चा पदार्थ हुन् ।”

उपभोक्ताको स्वास्थ्य र पौष्टिकतालाई समेत ध्यानमा राखेर विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डमा आधारित आइपिएम पद्धतिका तरकारी तथा फलफूल बिक्री गर्ने लक्ष्य रहेको प्रालिका सञ्चालक राजन पौडेल बताउनुहुन्छ ।

“पहाडी र उच्च पहाडी हावापानीमा उत्पादित स्वच्छ, स्वस्थ र अर्गानिक तरकारी फलफूललगायत विभिन्न खाद्य सामग्री पैँचो बजारमार्पmत उपभोक्तालाई उपलब्ध गराउँदै आइएको छ,” उहाँले भन्नुभयो, “पैँचो कार्यक्रमले विभिन्न प्रयोजनका लागि जेटिए, माटो विज्ञ र पशु विज्ञ यतिबेला पहाडी क्षेत्रमा उत्पादन वृद्धिका लागि कृषकको घरघरमा खटाएको छ ।”

तराईको जमिनमा अनेकौँ रासायनिक मल र कीटनाशक औषधि प्रयोग गरी उत्पादन भएका तरकारी र फलफूलभन्दा पैँचो बजारमा पाइने पहाडी क्षेत्रका उत्पादन रसिला, स्वच्छ र पौष्टिक एवम् विषादीरहित छन् भन्दै पौडेलले उत्पादन वृद्धिका लागि हाइब्रिड र इन्जेक्सन प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्ने पैँचोको अभियान भएको प्रस्ट पार्नुभयो ।

नेपाललाई नारामा कृषिप्रधान देश भनिए पनि उपयुक्त कृषि नीतिको अभावमा वर्षभरि मिहेनत गर्ने किसानले प्रतिफल पाउन नसक्नु तथा भण्डारको अभावमा उचित मूल्य नपाउनु र विचौलियाले बढी फाइदा लिने गरेको देखिएको छ भने ग्रामीण भेगमा कृषि पेसा अपनाइरहेका किसानलाई उपयुक्त मल, बीउ तथा कृषि औजारको उपलब्ध गराई कृषि उत्पादन गर्न अभिप्रेरित गर्ने उत्पादनलाई उचित मूल्य दिई बजारीकरण गर्दै पैँचो पसलले कार्य सम्पादन गर्दै आएको छ ।

नेपालमा विभिन्न कृषिजन्य उत्पादन बाहिरी मुलुकबाट आयात गर्ने क्रम अत्यधिक रहेको वास्तविकतामा पैँचो पसलले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बजारीकरणमा लाग्नु प्रत्येक नेपालीका लागि अनुकरणीय भएको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले बताउनुभयो । “मुलुकको आर्थिक समृद्धि र विकासका लागि युवाबाट सुरु गरिएका यस्ता अभियानलाई राज्यले पनि प्रोत्साहन दिनु आवश्यक छ,” उहाँले भन्नुभयो । हरि वास्तोला/रासस

यसमा तपाइको मत

Loading...