‘सरकार र निजी क्षेत्र मिलेमात्र देशको विकास सम्भव’

Loading...

काठमाडौँ, ३१ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घकी नवनिर्वाचित अध्यक्ष भवानी राणाले सरकार र निजी क्षेत्र मिलेर मुलुकलाई विकासको बाटोमा लैजानुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले मुलुकको सामाजिक र आर्थिक विकासका लागि महासङ्घले काम गर्ने बताउनुभएको हो । उहाँले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्ने काममा महासङ्घ लाग्ने बताउनुभयो ।

अध्यक्ष राणाले महासङ्घले विगतमा गरेका कामलाई निरन्तरता दिँदै महासङ्घअन्तर्गतका जिल्ला, नगरलाई प्रान्तीय रुपमा अगाडि बढाउने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सात प्रदेशमा स्मार्ट सिटी बनाउनका लागि सहरी विकास मन्त्रालयसँग मिलेर काम गर्नेछौँ ।” उहाँले आर्थिक समृद्धिका लागि निर्वाचन आवश्यक रहेको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासङ्घले विकास निर्माणको कार्यलाई अघि बढाउने बताउनुभयो । उहाँले देशमा विकासको खाँचो भएको बताउँदै गाउँदेखि सहरसम्म विकासका एजेन्डा लिएर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । गोल्छाले आर्थिक विकासका लागि गुट उपगुटमा नलागी काम गर्ने बताउनुभयो ।

जिल्ला नगर उपाध्यक्ष प्रमोद श्रेष्ठले जिल्ला तथा नगरका समस्यालाई आफूले सँधै प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेश तथा स्थानीय तहमा ऐनमा भएका बाधा तथा व्यवधानलाई हटाएर व्यवसायीको नीति तथा कार्यक्रम ल्याउन पहल गर्ने बताउनुभयो ।

एसोसिएट उपाध्यक्ष चन्द्र ढकालले श्रमिक र व्यवसायी बीचको सम्बन्धलाई सुधार गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले उत्पादनमूलक क्षेत्रमा लगानीको सम्भावान पहिचान गरी कार्ययोजना अघि सार्ने स्पष्ट पार्नुभयो ।

महासङ्घका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले महासङ्घको कोषलाई पारदर्शी बनाउने बताउनुभयो । उहाँले प्राविधिक शिक्षालय स्थापनाका लागि विदेशीसँग सहयोग ल्याउनेगरी काम गर्ने स्पष्ट पार्नुभयो । रासस

Loading...

यसमा तपाइको मत

Loading...