तीर्थै तीर्थले युक्त सभ्यताको स्रोत बाग्मती

Loading...

काठमाडौँ, २६ फागुन । उद्गमस्थल बाग्द्वारदेखि उपत्यका बाहिरिने चोभार कटुवाल दहसम्मको बाग्मतीमा अनगिन्ती तीर्थस्थल भए पनि सिधै ढल मिसाई फोहर फाल्ने केन्द्र बन्दा संस्कृति धमिलिएको छ ।

बाग्मतीका सहायक नदी मिसिने दोभान, घाट र नदी किनारका विभिन्न तीर्थस्थलमा लाग्ने मेला, पर्व, जात्राका विषयमा पछिल्लो पुस्ता बेखबर छ । कटुवाल दहदेखि बाग्द्वारसम्म गरिने एकमहिने बाग्मती यात्रा त अब एकादेशको कथा बन्न पुगेको छ । प्रत्येक दिन बाग्मतीको जलले स्नान गराइने पशुपतिनाथ मन्दिरमा यो परम्परा तोडिएको पनि २५ वर्ष पुगेको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डन विसं २०४९ देखि पशुपतिनाथ मन्दिरमा बाग्मतीको जलले स्नान गराउने परम्परा अन्त्य भएको बताउनुहुन्छ । “बाग्मती फोहर बन्दै गएपछि विसं २०४९ मा भष्मेश्वरको पश्चिमपट्टि इनार खनेर हाल त्यही जलले पशुपतिनाथमा स्नान गराइन्छ, नदी फोहर हुँदा यहाँको संस्कृति र संस्कारमा प्रभाव परेको छ, पशुपतिनाथमा बाग्मतीको शुद्ध जलले स्नान गराउने मुख्य उद्देश्यले नै अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको गठन भएको हो”–उहाँले भन्नुभयो ।

बाग्मतीको पानी जति खानेपानीका लागि उपयोग गरिँदा नदीमा पानी नहुने र हालिएको ढल मात्र बग्नु फोहर बन्नुको मुख्य समस्या हो । यसले गर्दा प्रत्येक वर्ष वैशाख महिनामा हुने बाग्मती तीर्थ यात्रा रोकिएको पनि २५ वर्ष नाघिसकेको छ ।

काशीमा नुहाए पुण्य पाइने र उत्तर काशीका नामले समेत परिचित बाग्मतीमा स्नान गरेमा धर्म, अर्थ, काम र मोक्ष पाइने पशुपति महात्म्यमा वर्णन गरिएको छ । शारीरिक र मानसिक दुवै शान्तिका लागि शिवपुरी लेकबाट प्रवाहित बाग्मतीको पानी उपयुक्त मानिने प्राचीन परम्परा छ ।

बाग्मती तीर्थको उत्पत्ति र महत्व
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट बाग्मती प्रकट भएको छ । नृसिंहले हिरण्यकशिपुलाई मारेपछि यसै पर्वतमा आएर मृगको इन्द्रसमान (सिंह) रुपको शिर धारण गरी विचरण गरेकाले मृगेन्द्र शिखर नामकरण भएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । बाग्मती उत्पत्ति भएकाले यो स्थानलाई बाग्द्वार भनिन्छ । भक्त प्रल्हादले एक हजार वर्षसम्म भगवान् शिवजीको तपस्या गरे । तपस्याबाट शिव अति प्रशन्न भई हाँसो प्रकट भयो । भगवान् शिवको अट्टहासले मुखबाट थुकका छिटा निस्कँदा बाग्मती प्रकट भएको किंवदन्ती विभिन्न पुराणमा उल्लेख गरिएको छ । शिवको मुखबाट उत्पत्ति भएकाले बाग्मतीलाई शिवगङ्गा र ब्रह्मसरस्वती पनि भनिन्छ ।

शिवपुरीको उत्तर मुखबाट बाग्मती र दक्षिण मुखबाट विष्णुमती प्रकट भइन् । यही शिखरको पूर्व दक्षिणतिरबाट रुद्रमती (धोबीखोला)को उत्पत्ति भएको छ । मणिचुड पर्वत (बज्रयोगिनीको डाँडो)बाट मणिमती (मनोहरा) उत्पन्न भएको छ । साथै उपत्यकाको विभिन्न स्थानबाट इक्षुमती (टुकुचा), हनुमती (हनुमन्ते), भद्रमती (भातेखुसी) र प्रभावती (नख्खुखोला) बाग्मतीमा मिसिन्छन् । बाग्मतीमा मिसिने यी सात नदीको समूहलाई सप्तमती पनि भन्ने गरिएको ‘बाग्मती काठमाडौँ सभ्यताको मुहान’ पुस्तकका लेखक पूर्व सचिव विष्णुगोपाल रिसाल बताउनुहुन्छ ।

यसबाहेकका कोट्कुखोला, महादेवखोला, बल्खु खोला, गोदावरी खोला, चन्द्रमती, सूर्यमती, स्यालमती, नागमतीलगायत धेरै सानातिना खोला पनि सिधै वा सहायक नदी हुँदै बाग्मतीमा मिसिन्छन् । हिमालयको काखबाट निस्केकी बाग्मती भागिरथी (गङ्गा) भन्दा सयौँ गुणा पवित्र छिन् भनी वराहपुराणमा उल्लेख गरिएको छ ।
पशुपति पुराणमा भनिएको छ ः –
पशुपतिसमं लिङ्गं वाग्वत्या च समा नदी ।
गुह्येश्वरीसमं पीठं नास्ति ब्रह्माण्डमण्डले ।।

अर्थात्, पशुपतिको समान लिङ्ग, बाग्मतीको समान नदी र गुह्येश्वरीको समान पीठ ब्रह्माण्डमा अरू छैनन् । स्कन्द पुराण नेपाल महात्म्यको हिमवत्खण्डमा बाग्मतीको महत्व बढाउनका लागि मनोहराको सङ्गम (दोभान)मा रहेको रुद्रधारा तीर्थले ठूलो भूमिका खेलेको उल्लेख छ ।

शास्त्रीय मान्यताअनुसार विष्णुमतीको सङ्गम टेकुदोभान र नख्खुखोला (प्रभावती) सङ्गमको पनि ठूलो गुणगान छ । नख्खुखोलाको सङ्गममा चैत्र शुक्ल अष्टमीका दिन आदिनाथलाई स्नान गराइन्छ । वैशाख सङ्क्रान्तिका दिन बाग्द्वार, सूर्यमती र चन्द्रमती खोला मिसिने गोकर्णेश्वर, जोरपाटीस्थित हत्यामोचनघाट, गुह्येश्वरी, पशुपति, शङ्खमूल, टेकुदोभान, नख्खुदोभान र कटुवालदहलगायत स्थानमा स्नान मेला लाग्ने गर्दथ्यो । सूर्यग्रहण र चन्द्रग्रहणका समयमा नदी किनारमा स्नान गर्नेको भीड नै लाग्थ्यो ।

नेपाल महात्म्यअनुसार बाग्मती तीर्थयात्रा गर्ने चलन छ । यो तीर्थयात्राको क्रम कटुवालदहबाट सुरु हुन्छ । महिनादिन लगाएर बाग्मती किनारका तीर्थ सेतुबन्ध, वासुकी, दुर्गा, व्याघ्र, प्रभावती र बाग्मती दोभानको प्रमोद तीर्थ बल्खु दोभानमा इन्द्रतीर्थ, टेकु दोभानमा पञ्चनदी तीर्थ, टुकुचा दोभानमा कालमोचन तीर्थ, रुद्रमती दोभानमा सहोदर तीर्थ, मनोहरा दोभान शङ्खमूलमा रुद्रधारा तीर्थ हुँदै बाग्द्वारमा ब्रह्मसरस्वती तीर्थको नामले तीर्थ स्नान गर्ने परम्परा पनि अब इतिहासमा सीमित बनेको छ ।

रोगले ग्रस्त भएका, प्राण गलामा अड्किराखेका, जस्तोसुकै पापी मूर्ख पनि आफ्ना दुवै गोडा बाग्मतीको पानी चोपी ब्रह्मनालमा सुतेर प्राण छोडे योग साधनाद्वारा मात्र पुगिने शिवको गति प्राप्त हुन्छ भन्ने नेपाल महात्म्यमा बताइएको छ । वराहपुराणमा बाग्मतीमा स्नान गरी शुद्ध हुने मानिसले मरेपछि पशुपन्छी भई जन्मनु नपर्ने र स्नान गर्नेको कुल पनि समृद्ध हुने उल्लेख छ ।

उपत्यकाको सभ्यताको स्रोत मानिने बाग्मती नदीमा फोहर फाल्ने तर बाग्मती नदी माथिको पुलबाट यात्रा गर्दा ढोग्ने प्रवृत्तिले नदी फोहर बन्दै गएको हो । विसं २०३० पछि बाग्मतीमा फोहर फाल्ने प्रवृत्ति बढ्दा ढलमतीमा परिणत भयो । यसलाई सफा गर्ने महाअभियान ४० वर्षपछि विसं २०७० जेठ ५ गते सुरु भयो । यो महाअभियानले बाग्मती सफाइमा सबै जुटे सफा हुन सक्ने सन्देश दिएको छ । तर बाग्मती कहिले पूर्णरुपमा सफा हुने हो र यसको किनारका संस्कृतिले पुनर्जीवन पाउने हुन् भन्न सकिने अवस्था छैन ।

संस्कृति विषयकी प्राध्यापक डा वीणा पौडेल पहिले बाग्मतीमा प्रणाम गर्ने गरे पनि हाल प्रणाम गर्ने हातले नाक थुनेर हिँड्नुपरेको बताउनुहुन्छ । “मानिसमा धर्मको आस्था घटी चेतना पनि नहुँदा सभ्यताको स्रोत बाग्मती फोहर बनेको छ, लाखौँले फोहर गर्ने ठाउँमा हजारौँले सफा गरेर सफा हुँदैन, सबै आफ्नो स्थानबाट सफाइमा जुट्नुपर्छ”–उहाँले भन्नुभयो । नदी सफा बनाउने उद्देश्यले नै विसं २०५२ देखि अधिकारसम्पन्न बाग्मती आयोजनाको काम सुरु भए पनि आशातीत सफलता प्राप्त हुन सकेको छैन । सुकुम्वासीका नाममा नदी किनारको जग्गा कब्जा गर्ने होडबाजीले सफाइ महाअभियानमा चुनौती थपिदिएको छ । पूर्णप्रसाद मिश्र/रासस

Loading...