निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या गरेको अभियोगमा पाँचजना पक्राउ (भिडियोसहित)

काठमाडौं, २८ कात्तिक । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने कास्कीको पोखरा महानगरपालिका–७ का ६० वर्षीय शरदकुमार गौचनको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले नेपाल पुलिस क्लव भृकुटीमण्डपमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरी पक्राउ परेका अभियुक्तहरुलाई सार्वजनिक गर्नुभयो ।
पक्राउ पर्नेहरुमा नुवाकोटको पंचकन्या गाउँपालिका–५ बस्ने २१ वर्षीय राजीव स्याङताङ, पर्साको कालीकामाई गाउँपालिका–१ बस्ने ३५ वर्षीय शिवजी महतो, बेतिया जिल्ला ग्राम पंचायत चौबेटोला–७ विहार भारतका २४ वर्षीय मुकेशकुमार पाण्डे, पर्साको ठोरी गाउँपालिका–५ बस्ने १८ वर्षीय सन्तोष गुरूङ र काठमाडौं नागार्जुन नगरपालिका–४ बस्ने २२ वर्षीय प्रकाश बुढाथोकी रहेका छन् ।
उनीहरुमध्ये राजीव सुटर, शिवजी हतियार तथा मोटरसाइकल व्यवस्थापन, मुकेश हतियार व्यवस्थापन, सन्तोष मोटरसाइकल व्यवस्थापन र प्रकाश उक्त घटनामा सहयोगीको रुपमा संलग्नता रहेको खुल्न आएको छ ।
उक्त महासंघका अध्यक्ष गौचनको ओमशान्ती चोकबाट नयाँवानेश्वरतर्फ जाने क्रममा काठमाडौं महानगरपालिका–३१ प्रयाग चोकमा गत असोज २३ गते गोली हानी हत्या भएको थियो ।
उक्त घटनामा संलग्न रहेका समिरमान सिंह बस्नेत, मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिङ्देन (लिम्बु), श्यामबहादुर गुम्बे, काले दाई भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा हाल फरार रहेकोले खोजी कार्य भइरहेको सो अवसरमा जानकारी गराइयो ।
अभियुक्तहरुले एक महिना अगाडिदेखि गौचनलाई निग्रानीमा राखेको, बरामद गरिएको मोटरसाइकल भारतबाट चोरी गरी ल्याई नेपाली नम्बरप्लेट बा.३५ प २४६१ राखी प्रयोग गरेको, शिवजीले भारतको वेतियाबाट नेपाली रुपैयाँ १८ हजारमा मोटरसाइकल खरिद गरी २४ हजारमा तथा भारतको वेतियाबाट ५५ हजार नेपाली रुपैयाँमा हतियार खरिद गरी ६५ हजारमा श्यामबहादुर गुम्बेलाई विक्री गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

यसमा तपाइको मत

Loading...