‘श्रम काउन्सेलर र श्रम सहचारी कामदारमैत्री बन्न आवश्यक’

काठमाडौँ, ३१ असोज  । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन विभिन्न देशमा नेपालको प्रतिनिधित्व गर्दै कार्यरत श्रम काउन्सेलर र श्रम सहचारीले विशेष भूमिका खेल्नुपर्नेमा यहाँ आज आयोजित कार्यक्रमका सहभागी वक्ताले जोड दिएका छन् ।

श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवास परियोजना(सामी) ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका सहभागीले काउन्सेलर र सहचारीले सक्रिय भूमिका खेलेमा कामदारको धेरै समस्या समाधान हुने बताए ।

श्रम तथा रोजगार मन्त्रालयले भदौ ९ गते दक्षिण कोरियाका लागि डिल्लीराम बास्तोला, मलेसियका लागि बद्रीकुमार कार्कीलाई काउन्सेलर र मोतीराम भुसाललाई युनाइटेड अरब इमिरेट्स (युयइ), ज्ञानेन्द्र शर्मालाई कुवेत, राजु कुँवरलाई साउदी अरबको जेद्दा र कृष्णाकुमारी गौलीलाई ओमनका लागि श्रम सहचारीमा नियुक्त गरेको थियो । उहाँहरु अहिले तीनमहिने तालीमका क्रममा हुनुहन्छ ।

तालीमरत काउन्सेलर र सहचारीसहितको अन्तक्र्रिया कार्यक्रममा विभिन्न देशमा काउन्सेलर र सहचारीरुपमा काम गरिसकेका कर्मचारीले आफ्नो अनुभव बाँडेका थिए ।

सो अवसरमा श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले अब काउन्सेलर र सहचारीका रुपमा जान लागेका कर्मचारीको कार्यशैली उत्कृष्ट हुने विश्वास व्यक्त गर्दै त्यसो भएमा धेरै नेपालीले विदेशमा दुःख नपाउने आशा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “ती देशमा लाखौँको संख्यामा नेपाली कामदारको श्रमसम्बन्धी समस्या समाधान गर्न एक जना काउन्सेलर र सहचारीले कति सक्छ, त्यो बहसको विषय हो, तर तपाईहरुले आफ्नो क्षेत्रबाट सकेको सहयोग गरे धेरै समस्या समाधान हुन्छ ।”

मन्त्रालयका निमित्त सचिव कृष्ण ज्ञवालीले वैदेशिक रोजगारलाई कामदारमैत्री बनाउन काउन्सेलर र सहचारी राख्ने अवधारणा मन्त्रालयले ल्याएको जानकारी दिनुभयो ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले वैदेशिक रोजगारका क्रममा कामदारलाई राहत तथा उद्धारमा बोर्डले आवश्यकपर्ने रकम सम्बन्धित दूतावासमा पठाए पनि अपेक्षाअनुरुपको दूतावासबाट सहयोग नपाएको गुनासो गर्नुभयो ।

सामी परियोजनाका ‘टिम लिडर’ सीता घिमिरेले सूचनाको पहुँच, सीप क्षमता अभिवृद्धि, न्यायमा पहुँच र आर्थिक साक्षरतामा परियोजनाले काम गरिरहेको जानकारी दिनुभयो । विभिन्न देशमा नेपालका चार काउन्सेलर र आठ श्रम सहचारी रहने व्यवस्था छ । रासस

यसमा तपाइको मत

Loading...