विकास साझेदारलाई प्राविधिक सहयोग गर्न प्राधिकरणको आग्रह

काठमाडौँ, २६ असोज  । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका लागि प्राविधिक जनशक्ति मुख्य चुनौती रहेको जनाउँदै प्राविधिक सहयातामा अझै बढी केन्द्रित हुन विकास साझेदार संस्थाका प्रतिनिधिलाई आग्रह गरेको छ ।

विकास सहायता समन्वय तथा सहजीकरण समितिको पाँचौँ बैठकमा आज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवं समितिका संयोजक प्रा डा गोविन्दराज पोखरेलले हालसम्म निर्माण भएका र भइरहेका निजी आवास करिब दुई लाख पुगेको र तिहारपछि धेरै लाभग्राहीले निजी आवास पुनर्निर्माण शुरु गर्ने योजना बनाएकाले आगामी पुस मसान्तसम्म सो संख्या तीन लाख ५० हजार पुग्ने बताउनुभयो ।
प्रा डा पोखरेलले हालै मात्र सरकारले घोषणा गरेको निर्माणाधीन घर धितो राखी अधिकतम रु तीन लाखसम्मको निब्र्याजी ऋणले विपन्न समुदायलाई मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्माण जनशक्ति सबैभन्दा ठूलो अवरोधका रुपमा रहेको उल्लेख गर्दै भूकम्प प्रभावितबाहेकका अन्य जिल्लामा पनि जनशक्ति उत्पादनका लागि तालीम संचालन गर्ने तयारी भइरहेको बताउनुभयो ।

बैठकमा प्राधिकरणका प्रवक्ता यमलाल भुसालले पुनर्निर्माण प्रगति, प्रमुख नीतिगत कार्य, वित्तीय अवस्था, पुनःजाँच र पुनःसर्वेक्षणको अवस्था, स्थानीय तहको भूमिका, १७ जिल्लामा कार्यान्वयनको अवस्था, प्राधिकरणको जनशक्तिको अवस्था आदि विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । विकास साझेदार संस्थाका प्रतिनिधिले प्राधिकरणद्वारा गरिएका निब्र्याजी ऋण, निजी आवास निरीक्षण, प्राधिकरणको सञ्चार रणनीति, गुनासो व्यवस्थापनलगायत विषयमा धारणा राखेका थिए ।

बैठकमा नेपालको पुनर्निर्माण क्षेत्रमा सहयोग गरिरहेका विकास साझेदार संस्थाका प्रतिनिधि, प्राधिकरणका कार्यकारी समितिका सदस्य, प्राधिकरणका अधिकारी, केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुखलगायतको सहभागिता थियो । रासस

यसमा तपाइको मत

Loading...