एनआरएन सम्मेलनमा नयाँ अभ्यास सुरु, श्रीमानपछि अब श्रीमती अध्यक्षको दावेदार

विश्वको विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघमा नयाँ अभ्यास सुरु भएको छ । श्रीमान बहालवाला अध्यक्ष हुँदाहुँदै नयाँ कार्यकालका लागि श्रीमतीले अध्यक्ष बन्ने नयाँ अभ्यास सुरु भएको छ ।
गैरआवासीय नेपाली संघमा दुई कार्यकाल अध्यक्ष भइसकेका शेष घलेकी श्रीमती जमुना घलेले आगामी कार्यकालमा अध्यक्षमा दावी प्रस्तुत गर्नुहुने भएपछि यो नयाँ अभ्यास सुरु भएको हो । यसअघि केही अध्यक्षले आफूले सुरु गरेको योजना पूरा गर्न भन्दै आफै अध्यक्ष बन्नुपर्ने दावी प्रस्तुत गरेका थिए ।
अस्ट्रेलिया निवासी धनाड्य जमुना घलेले आगामी कार्यकालका लागि उम्मेदवारी प्रस्तुत गर्नुहुने भएको हो । संघको अध्यक्षका लागि जापानका भवन भट्ट र कतारका टीबी कार्कीले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।
७७ मुलुकका नेपालीहरु सहभागी संघ सन् २००३ मा स्थापना भएको हो । संघमा दुई कार्यकाल डा. उपेन्द्र महतो अध्यक्ष रहनु भयो भने एक कार्यकाल देवमान हिराचन र एक कार्यकाल जीवा लामिछाने अध्यक्ष रहनु भएको थियो। महतोको दोस्रो कार्यकाल जबरजस्ती भिडाइएको थियो भने लामिछानेले आफू एक कार्यकालका लागि मात्र अध्यक्ष बन्ने पूर्व घोषणा नै गर्नुभएको थियो ।
त्यसपछि अध्यक्षा बन्नु भएका घलेले दुवै पटक चुनाव जितेर अध्यक्ष बन्नु भएको हो । विधान अनुसार दुई कार्यकाल मात्र अध्यक्ष बन्न पाइने भएपछि उहाँले तेस्रो कार्यकालका लागि श्रीमती घलेलाई अघि सार्नु भएको छ। संघको विश्व सम्मेलन तथा अधिवेशन १४ देखि १७ अक्टोबरसम्म काठमाडौमा हुँदैछ ।

यसमा तपाइको मत

Loading...