कुबेतमा घरेलु हिंसा पीडित अवस्थामा विस्मिता दर्जी, जनप्रतिनिधि नै मानव तस्करीमा

झापा, २७ भदौ । झापा मेचीनगरकी एक निर्वाचित जनप्रतिनिधिले गैरकानूनी माध्यमबाट कुवेत पठाएकी २४ वर्षीया बिस्मिता दर्जीको विदेशमा घरेलु हिंसा पीडित हुनुभएको छ ।
कुवेतमा दिनहुँ चर्को शारीरिक यातना भोग्न बाध्य हुनु परेको भन्दै वहाँले जीवनरक्षाका लागि तत्काल स्वदेश फर्काइदिन हारगुहार गर्नु भएको छ । मेचीनगर–९ घर भएकी बिस्मितालाई मानव तस्करीको गिरोहले काठमाडौँबाट दिल्ली हुँदै सेटिङमा कुवेत पुर्याएको थियो । गाउँकै मीना कामीले बिस्मितालाई राम्रो काम र दाम पाइने भनी लोभ देखाएर कुवेत पठाएकी हुन् ।
मीना हाल मेचीनगर–९ की निर्वाचित वडा सदस्य हुन् । उनी नेपाली काङ्ग्रेसबाट वडाको महिला सदस्यमा निर्वाचित भएकी हुन् । मानव तस्करीमा संलग्न दलालहरुसँग मिलेर उनले बिस्मितालाई घरेलु कामदारको रुपमा बेचेका हुन् कि भन्ने आशङ्का उब्जिएको स्थानीय अगुवाहरु बताउँछन् ।
नौ महिना अघि कुवेत पुर्याइएकी बिस्मिताले हाल लगातार परिवारका सदस्य र जनप्रतिनिधि मीना कामीलाई फोन गरेर कुवेतबाट छिटो उद्धार गरी घर फर्काइदिन अनुरोध गरिरहनु भएको छ । कुवेतमा बन्दी जस्तै अवस्थामा रहेकी विस्मिता दर्जीको उद्धार गरी पाउँ भनी उनका बुबा राजकुमार दर्जीले मेचीनगर नगरपालिकामा आइतबार निवेदन समेत दिनुभएको छ ।
आफ्नी छोरीको उद्धारका लागि आग्रह गर्दा नगरपालिकाकी निर्वाचित वडा सदस्य मीना कामीले परिवारसँग १ लाख ५० हजार रुपैयाँ उल्टै मागेको उनका बुबा राजकुमार दर्जीले बताउनु भयो । बिस्मिताका पति नरेन्द्र दासले तत्काल बिस्मिताको उद्धार गरिदिन मिडियामार्फत सरकार, स्थानीय प्रशासन, सरोकारवालाहरु र स्थानीय निकायसँग अपील गर्नुभएको छ ।
अधिवक्ता दिपेन्द्र भट्टराईका अनुसार गैरकानुनी बाटो प्रयोग गरेर बैदेशिक रोजगारमा पठाउनेलाई मानव बेचविखन तथा ओसारपसार सम्बन्धी मुद्दा लाग्नेछ । बेचविखन गरेको ठहरिए पीडकलाई २० बर्षको जेल सजाय र क्षतिपूर्ति समेत कानुनमा व्यवस्था भएको बताउनु भयो ।

यसमा तपाइको मत

Loading...