गौरा पर्बमा देउडामय बन्यो यूएई

सुदूर पश्चिम सेवा समाज युएईले सुदूरपश्चिमाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्ब गौराको शुभ अवशर पारेर आयोजना गरेको ‘गौरा पर्ब २०१७’ कार्यक्रम गत ०१ सेप्टेम्बर २०१७ शुक्रबारका दिन Abu Dhabi Folklore Theatre मा भव्यताका साथ सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष जयराज जोशीको अध्यक्षतामा तथा नेपाली दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्कीको प्रमुख आतिथ्यतामा अघाडी बढेको सो कार्यक्रममा बिशेष अथितिमा नेपालबाट आउनु भएका चित-परिचित बरिष्ठ देउडा गायक नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद नरेन्द्रराज रेग्मी, चर्चित लोकदेउडा गायक महेश कुमार औजी, चर्चित लोकदेउडा गायिका पुष्पा बोहोरा र अन्तराष्ट्रिय नेपाली सुदूरपश्चेमेली समाजका सह-संयोजक लोकेन्द्र बहादुर बम रहनु भएको थियो ।
दर्शकहरूको भिडले खचाखच भरिएको हलभित्र औपचारिक कार्यक्रम दिप प्रज्वलन गरी समुद्घाटन गरे पश्चात राष्ट्र र राष्ट्रियतालाई सम्मान गर्दै राष्ट्रिय गानबाट शुरुवात गरिएको र सांस्कृतिक कार्यक्रम गौरा देबीको पूजा अर्चना गर्दै शुरुवात गरिएको सो कार्यक्रममा यूएईमा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरू, बुद्धिजीवी, ब्याबसायी, कलाकार, पत्रकारको उल्लेखनिय उपस्थिती रहेको थियो ।


दुई चरणमा सम्पन्न भएको औपचारिक कार्यक्रम देउडा गीतका टुक्काहरु सुनाउदै लक्ष्मण अधिकारी र सांस्कृतिक कार्यक्रम लोकेन्द्र बहादुर बमले संचालन गरेका थिए, भने कार्यक्रममा संस्थाका उपाध्यक्ष देब कुँवरले उपस्थित अथिति तथा सहभागीहरुलाई आफ्नो मौलिक भाषामा छोटो मिठो स्वागत मन्तब्य राखेका थिए ।  ब्याबस्थापनमा केहि तालमेल नमिलेर निर्धारित समय भन्दा लगभग २ घण्टा ढिलो शुरु भएर मन्द गतिमा अघाडि बढेको कार्यक्रमले नेपालबाट आउनु भएका राष्ट्रिय कलाकारहरु स्टेजमा आउन थालेपछि आफ्नो स्वरुप परिवर्तन गरेको थियो ।
कार्यक्रममा नेपालबाट आउनु भएका चित-परिचित बरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मीले स्टेजमा आफ्नै अन्दाजमा प्रबेश गर्दै साउको ऋण बुझाउनु होइजाउ पैचोलाई तिर्‍री जाउ ठाडीभाका गाएर गाउकै बनपाखाको झलक्क याद दिलाएका थिए भने दसैं तिहार फर्केर आउने प्रदेशीको केई खबर नपाउने, चैर मुसी चैर, ओ तेरी मोबाईलकी घण्टी न्यारी जस्ता गीत गाएर उपस्थित दर्शकलाई छमछमी नचाउनुका साथै पुष्पा बोहोरालाई स्टेजमा बोलाएर लाईहाल कालो टिको देउडा दोहोरी गीत गाएर स्टेजबाट तल झर्दै सबैलाई देउडामा पैतल मिलाउन वाध्य बनाएका थिए ।
त्यस्तै चर्चित लोकदेउडा गायक महेश कुमार औजीले घुम बादल ओपीका रोल ठाडीभाका र जय जय जन्म भुमी, सुदूर पश्चिम स्वर्ग सरी, कलेजी कटाउन्या, काफल पाकन्ना न्याउली बासन्ना जस्ता मौलिक गीत गाएर दर्शकको ध्यान आफु तिर खिच्नुका साथै छम छम नाची देउ दादा मिलाउदेउ पैतली जस्ता एक से एक छलिया गीत गाएर पुरै हलको माहोल तताउदै सबै दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए, महेश कुमार औजी कै गीतमा सुरज शाह र मनोज भट्ट ‘सानुकाजी’ले स्टेजमा नै गएर ढाल तरबार नचाएर नृत्य गरेको देखेर दर्शकहरु चकित भएका थिए ।
उक्त कार्यक्रममा युवाहरुको मुख्य आकर्षण रहेकी चर्चित लोकदेउडा गायिका पुष्पा बोहोराको नाम लिने बित्तिकै पुरै हल सिटीले गुन्जिएको थियो, पुष्पा बोहोराले बरातैका दिन आँखाकि चालमारी मेरा ब्याउलाले, मुई डोली चढ्न्या बेला, सोल्टी ज्यू, दुना टपरी जस्ता गीत गाउदै स्टेजबाट तल झर्दा उपस्थित युवाहरु त्यसै चुप लागि बस्न सकेनन् स्टेज अघाडी आएर कोहि कम्मर मर्काएर छमछमी नाच्दै थिए भने कोहि सिटि बजाउदै आ-आफ्नो मोबाईलमा तस्बिर र भिडियोहरु खिच्दै रमाईलो गर्दै थिए ।


यूएईमा कार्यरत कलाकारहरुमा मोहन सिंह ठकुराठी, शारा देवी ठकुराठीबाट प्रस्तुत गरेको मार्मिक प्रस्तुती देखेर उपस्थित दर्शकका आँखा रसाएका थिए भने सुरज शाह र मनोज भट्ट ‘सानुकाजी’को टीमले गरेका नृत्यहरु देखेर कम्मर मर्काउदै छमछमी नाचेका थिए ।
आफ्नै भेष-भुषाहरु मखमली गुन्यु चोली, गलामा नौगेडी र तिलहरी, कपालमा डोरी र कम्मरमा पटुकी बाधेर सजिएका महिलाहरु र दौरासुरुवाल, शीरमा टोपी लगाएर हातमा ढाल तरबार बोकेर सजिएका पुरुषहरु देख्दा यूएईमा नभएर सुदूर पश्चिम कै कुनै एक गाउ-ठाउमा गौरा पर्ब हेरी रहेको जस्तो आभाश हुन्थ्यो ।
सात समुन्द्र पारी प्रबाशमा गौरा पर्बको अवसर पारेर यसरी भेटघाट गरी देउडा खेल्न पाउँदा उपस्थित सबै निकै उत्साहित देखिएका थिए भने बिरुडाको प्रशाद ग्रहण गर्दै सो कार्यक्रममा भएका घमाशान देउडा दोहोरी र मन छुने देउडा ठाडिभाका सँगै एक से एक नृत्य देखेर त्यसै चुप लागेर बस्न नसकि कोहि देउडामा पैतल मिलाउदै थिए, कोहि नाच्दै रमाउदै थिए, कोहि ताली बजाउदै थिए, कोहि सिटि बजाउदै आ-आफ्नो मोबाईलमा तस्बिर र भिडियोहरु बनाउनुमा नै मक्ख देखिन्थे ।


सोहि कार्यक्रममा नेपालबाट आउनु भएका बिशेष अथिति कलाकारहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाई बिशेष सम्मान गरिएको थियो भने राष्ट्रिय कलाकार सँगै स्थानिय कलाकारहरु पनि सम्मान पत्र सहित सम्मानित भएका थिए ।

मान बहादुर के.सी. ‘मुस्कान’ -यूएई,

यसमा तपाइको मत

Loading...