यू – १५ साफ च्याम्पियनसिप फुटबलमा बंगलादेश विजयी

काठमाडौ । काठमाडौमा शुक्रबारबाट सुरु यू – १५ साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले विजय सुरुआत गरेको छ ।
शुक्रबार भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई ४ – ० ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशलाई जित दिलाउन अहमेद फाहिमले ह्याट्रिक गरे । बंगलादेशको लागि एक गोल नाज्मुल बिश्वासले गरेका थिए । जितसँगै बंगलादेशले ३ अंक जोडेको छ र सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
श्रीलंकामाथि एकतर्फी जित निकाल्ने क्रममा बंगलादेशले २८ औं मिनेटमा अहमेदको गोलबाट अग्रता बनायो । खेलको ३२ औं मिनेटमा अहमेदले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ४४ औं मिनेटमा नाज्मुलले बंगलादेशको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ७४ औं मिनेटमा अहमेद पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पुरा गरे ।
त्यसपछि थप गोल हुन् सकेन र खेल बंगलादेशले ४ – ० को सहज जित निकाल्यो । च्याम्पियनसिपमा दक्षिण एसियाका ६ टोलीको सहभागिता रहने छ । समूह ए मा रहेको बंगलादेश, श्रीलंका र भुटान रहेको छ । नेपाल सम्मलित समूह बि मा बलियो टोलीहरु भारत र माल्दिभ्स रहेको छ ।
च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग सोमबार खेल्ने छ । त्यस्तै दोस्रो खेलमा नेपालले बुधबार भारतको सामना गर्ने छ । लिगकम नकआउटका आधारमा हुने च्याम्पियनसिपमा समूहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् ।

 

यसमा तपाइको मत

Loading...