महिला भलिवल प्रतियोगिताको तयारी पूरा

काठमाडौं । तिज पर्वको अवसरमा पोखराको लामाचौरमा आयोजना हुने छैटौं राष्ट्रिय महिला भलिवल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । भदौ ४ गतेदेखि सुरु हुने तिज महोत्सवकै मुख्य आकर्षकका रुपमा सञ्चालन हुने महिला भलिबलको सम्पूर्ण तयारी पूरा भएको जित महोत्सव समन्वय विशेष समितिका संयोजक एवं नव आर्दश सामुदायिक विकास समाज लामाचौरका पूर्व अध्यक्ष धर्ममानसिंह भण्डारीले जानकारी दिए ।

भदौ ८ गतेसम्म इन्द्रराज्यलक्ष्मी माविको परिसरमा संचालन हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन काठमाडौंको न्यु डायमण्ड एकेडेमी, विभागीय टोली नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको एपिएफ क्लव, पश्चिमाञ्चल भलिवल संघ र जावलाखेल भलिवल प्रशिक्षण केन्द्र गरी ५ टिमको सहभागिता रहनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको बिजेताले ७५ हजार, उपबिजेताले ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन । तेश्रो हुनेले २० हजार र सान्त्वना हुनेलाई १५ हजार प्रदान गरिने भएको छ । त्यस्तै, बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचलाई पुरस्कार स्वरुप ट्रफी र घडी उपहार प्रदान गरिने भएको छ । महोत्सवको अवसरमा भदौ ४ गतेदेखि ६ गतेसम्म बिद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिता पनि आयोजना गरिने भण्डारीले जानकारी दिए ।

यसमा तपाइको मत

Loading...