बाढीको बबण्डरः कहाँ के भयो ? बाढी र डुबानबाट हालसम्म ३६ जना भन्दा धेरैको मृत्यु, कयौ बेपत्ता

काठमाडौ, २८ साउन । तराईका केही जिल्लामा आएको बाढी र डुबानबाट हाल सम्म ३६ जना भन्दा धेरैको मृत्यु भएको छ ।
गएरातिदेखि परेको लगातारको वर्षाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ३६ भन्दा धेरै रहेको र उद्धार तथा राहतका लागि सरकारले कुनै कसर बाँकी नराखेको गृहमन्त्री जनार्दन शर्माले  बताउनुभयो । झापा लगायतका केही जिल्लामा जोखिममा रहेका नागरिक र समुदायलाई उद्धारका लागि कठिनाइ भएको पनि मन्त्री शर्माले बताउनुभयो ।
खराब मौसमका कारण हेलिकप्टर उडाउन नसकिदा समस्या भएको उहाँको भनाइ छ । कतिपय स्थान अझै जोखिममा रहेको भन्दै विशेष सर्तक रहन पनि सरकारले सर्वसाधरणलाई आग्रह गरेको छ । केन्द्रीय दैविक प्रकोप तथा उद्धार समितिको आज बसेको आकस्मिक बैठकपछि मुलुकका पूर्वी तराई र पश्चिमका केही जिल्लामा आएको बाढी र डुबानमा परेकाको तत्काल उद्धार गरी राहत वितरणमा उच्च प्राथमिकताका साथ उद्धार टोली परिचालन गरिएको जनाएको छ । राहत सामग्री संकलन र उद्धारकार्यमा सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था लगायतलाई सरकारले अपिल पनि गरेको छ ।
खाद्य सामाग्री तथा सरसफाई लगायत कारणले फैलन संक्ने संक्रमणलाई मध्यनजर गरी स्वास्थ्य मन्त्रालयसंग समन्वय गरी टोली पठाउने तयारी भईरहेको पनि सरकारले जनाएको छ । गएरातिदेखिको भारी बर्षापछि स्थानीय नदीमा आएको बाढीका कारण झापा ,मोरङ, सुनसरी, सर्लाही, रौतहट, सप्तरी, बाँके, दाङ लगायत जिल्ला डुबानमा परेका छन् । मौसम पूर्वानुमान महाशाखाले विशेष अपिल जारी गर्दै तल्लो तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको छ ।

खोज तथा उद्धारमा सबै सुरक्षा निकाय परिचालन
सरकारले बाढी पहिरो र डुबानबाट मुलुकका विभिन्न स्थान प्रभावित भएकाले स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खोज, उद्धार र राहतका लागि परिचालित भएको जनाएको छ ।
गृहमन्त्रालयले आज एक सार्वजनिक अपिल जारी गर्दै प्रभावितको खोज तथा उद्धारका लागि तालीम प्राप्त सुरक्षाकर्मी र अन्य उपलब्ध जनशक्तिहरूको परिचालन उच्च प्राथमिकताका साथ भइरहेको जनाएको हो । मन्त्रालयले झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके जिल्लाका विभिन्न स्थान बाढी र डुबानबाट बढी प्रभावित भएको भन्दै सरकारका सबै निकायबीच आवश्यक समन्वय गरी प्रतिकार्य अगाडि बढाइएको उल्लेख गरेको छ ।
मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले देशका विभिन्न नदीको जल सतह बढिरहेको र केही नदीको जल सतह खतराको तहभन्दा माथि गएको हुँदा सम्बन्धित सबैले आ–आफ्नोतर्फबाट उच्च सतर्कता अपनाउन अनुरोध गर्नुभयो ।
दुई ओटा हेलिकप्टर परिचालन, एक सयजनाको टोली तयारी अवस्थामा
अविरल वर्षाका कारण बाढी र डुबानमा परेकाहरुको उद्धारका लागि नेपाली सेनाका बिभिन्न इकाइहरु सक्रिय रुपमा जुटेका छन् ।
डुबानको जोखिममा परेकाहरुको उद्धार र बेपत्ता भएकाहरुको खोजीमा युनिटहरु सक्रिय भएर लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । गएराती परेको अविरल वर्षाको कारण ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, सिन्धुली, चितवन, बाँके जिल्लाहरुको विभिन्न स्थानहरुमा आएको बाढी तथा डुबानमा परेका ईलाकाहरुमा नजिकै तैनाथ नेपाली सेनाको युनिटहरु खोज तथा उद्धार कार्यमा लागेका हुन् । बढी प्रभावित सुनसरी र मोरङ जिल्लामा हिजो मध्यरातबाट नै खोज तथा उद्धारको लागि पूर्वी पृतना हेड क्वार्टर अन्तरगतका फौजहरु परिचालित भईरहेको निर्देशनालयले जानकारी दिएको छ ।
सुनसरी जिल्लामा डुबानमा परी ४ सर्वसाधारणको मृत्यु भएको र करिब ४ सय घरहरु डुबानमा परेको जानकारी प्राप्त हुना साथ डुबान प्रभावित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजान तथा अन्य सहयोगको लागि फौज परिचालन गरिएको छ । उद्धारका लागि पूर्वी पृतना हेड क्वार्टर ईटहरीमा रहेको एलुवेट हेलिकप्टर समेत प्रयोग गरिएको छ ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा हिजोराती देखि परेको अविरल बर्षाको कारण आएको पहिरोबाट मृत्यु भएका ४ जनाको शव मध्य पृतना हेड क्वार्टर अन्तरगत चण्डीदल गणबाट खटिएका फौजले पहिरोबाट निकाल्न र सोही पहिरोमा परेका १ जना सर्वसाधारणको जिवितै उद्धार गरेको निर्देशनालयले जनाएको छ । अविरल बर्षाको कारण आएको बाढीबाट बढी प्रभावित बाँके जिल्लामा समेत खोज तथा उद्धार कार्यका लागि उत्तर पश्चिम पृतना हेडक्वार्टर अन्तरगतबाट फौज सक्रिय भएका छन् ।
उत्तर पश्चिम पृतना हेडक्वार्टर सुर्खेतमा रहेको एमआई १७हेलिकप्टर समेत खोज तथा उद्धार कार्यमा प्रयोग गरिएको सैनिक जनसम्पर्क निर्देशनालयको भनाइ छ । बाढी तथा डुबानमा परेका स्थानीयहरुको खोज तथा उद्धार कार्यमा थप मद्दतको लागि २ वटा मोटरबाट चल्ने डुंगा) र १ वटा रबर बोट लगायत अन्य आवश्यक सामग्री सहित काठमाण्डौं स्थित रेञ्जर गणबाट ३ वटा विपद् सहयोग तथा उद्धार टोली र युद्धभैरब गणबाट ३ वटा उद्धार टिम गरी जम्मा एक सय जना त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको पनि नेपाली सेनाले जनाएको छ ।

यसमा तपाइको मत

Loading...