हनुमानढोका दरबार क्षेत्रको पुनःनिर्माण हुँदै

काठमाडौँ, २ साउन । धर्म, संस्कृति, जात्रापर्व तथा त्यससँग सम्बन्धित प्राचीन मूर्ति तथा मन्दिरको संगमस्थल हनुमानढोका क्षेत्र अनुसन्धाता तथा अन्वेषकका लागि जीवन्त संग्रहालयका रुपमा रहेको छ ।

यस क्षेत्रभित्र प्रमुख रुपमा इन्द्रजात्रा पर्व, १२ वर्षे पचली भैरव जात्रा, काष्ठमण्डप, गद्दी बैठकजस्ता महत्वपूर्ण पर्व तथा मठमन्दिर थिए र छन् । विसं २०७२ को भूकम्पबाट हनुमानढोका परिसरभित्रका थुप्रै गौरवमय स्मारक तथा मन्दिरलाई क्षति पुगेको थियो जसको अवस्था हामीसामु छँदैछ ।
सन् १९७९(विसं २०३५। ०३६तिर) मा युनेस्कोद्वारा विश्वसम्पदा सूचीमा समावेश गरिएको काष्ठमण्डप पूर्ण रुपमा ध्वस्त भएको छ । त्यस अतिरिक्त त्रैलोक्यमोहन मन्दिर (पँु देगः), वंशगोपाल मन्दिर (च्यासिँ देगः), गद्दी बैठक, प्रतापध्वज स्तम्भ, लक्ष्मीनारायण(दशअवतार–शकुनिको पासा खेलाउने ठाउँ) मन्दिर, शिव मन्दिर, कागेश्वर मन्दिर तथा ठूलो नगरा घर पूर्ण रुपमा क्षति भएको थियो ।

हनुमानढोका हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले भूकम्पबाट सो क्षेत्रका आठवटा महत्वपूर्ण सम्पदा पूर्णरुपमा क्षतिग्रस्त भएको र अरु कैयौँ मठमन्दिर तथा चैत्यमा आंशिक क्षति पुगेको बताउनुभयो । “भूकम्पबाट क्षतिग्रस्तमध्ये कालभैरव पछाडिको लक्ष्मीनारायण मन्दिरको काठमाडौँ भ्याली प्रिजरभेसन ट्रस्टको सहयोगमा जीर्णोद्धार कार्य सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो । सो संस्थाले शिव मन्दिरको जीर्णोद्धार पनि पूरा गरेको छ । त्यस्तै विसं १७६८ मा रानी भुवनलक्ष्मीले निर्माण गराएको कागेश्वर मन्दिरको पनि जीर्णोद्धार सम्पन्न भइसकेको छ । विसं १८६४ मा राजा गीर्वाणयुद्धविक्रम शाहको राज्यकालमा निर्माण गरिएको ठूलो नगरा घरको निर्माण काठमाडौँ महानगरपालिकाद्वारा सम्पन्न भइसकिएको छ ।

तलेजु मन्दिरपछिको दोस्रो ठूलो मन्दिर देगु तलेजु मन्दिरको निर्माण हनुमानढोका दरबार संग्रहालय विकास समितिले जीर्णोद्धार सम्पन्न गरेको छ । भाषा वंशावलीमा राजा शिवसिंहले सो मन्दिर निर्माण गरेको उल्लेख छ । मन्दिर परिसरमा रहेको अभिलेखमा हनुमानढोका परिसरमा लिच्छविकालदेखिका संरचना तथा मन्दिर रहेको देखिएको छ ।

हनुमानढोका विकास समितिबाट श्वेत भैरव र प्रतापध्वज स्तम्भको पुनःनिर्माण भइरहेको छ भने विसं १७०५ मा राजा प्रताप मल्लले आफ्ना रानीहरु रुपमती र राजमतीका सम्झनामा निर्माण गरेको वंशगोपाल मन्दिर (च्यासीँ देगः) को पुनःनिर्माण पुरातत्व विभागले गरिरहेको छ ।

जापान सरकारको सहयोगमा जीर्णोद्धार गर्ने निर्णय भइसकेको हनुमानको शिला प्रतिमाको पछाडिको आगँछेँको पुनःनिर्माणका लागि भौतिक क्षति र संरचनाको अध्ययन, नक्शा, तस्बिर अभिलेख राख्ने कार्य भइरहेको नकर्मीले बताउनुभयो । हनुमानढोका हेरचाह अड्डाका अनुसार दशअवतार देखाइने मन्दिर पुनःनिर्माणका लागि रु एक करोड तथा च्यासीँ देगः को पुनःनिर्माणका लागि रु एक करोड बजेट छुट्याइएको छ ।

काभ्रेपलाञ्चोकबाट काठमाडौँ आई काठसम्बन्धी निर्माणमा संलग्न दिलबहादुर घर्तीले हनुमानढोकाको निर्माणमा ढिलाइ भएकामा दुःख व्यक्त गर्दै पुरानै शैली तथा बुट्टा प्रयोग गरी ती स्मारकको जीर्णोद्धार गरिए हाम्रा पूर्वजको भावना प्रतिविम्बित हुने बताउनुभयो ।

वसन्तपुर क्षेत्रको अवलोकन गरिरहनुभएका कलंकीका वासुदेव शर्माले लिच्छविकालदेखिको सम्पदा तथा संरचना एउटा विशेष जाति तथा धर्ममा मात्र सीमित नभई राष्ट्रको सम्पत्ति भएकाले भूकम्पबाट भत्केका संरचना लोप हुने अवस्थाबाट बचाउनु सरकारको कर्तव्य भएको बताउँदै भन्नुभयो, “यसमा जनताको पनि एकीकृत सहभागिताको आवश्यकता छ । ”
नेपालमा हरेक ५० देखि ६० वर्षको अन्तरालमा ठूलाठूला भूकम्प गएको पाइन्छ । तेह्रौँ शताब्दीमा आएको शक्तिशाली भूकम्पमा परी राजा अभय मल्लसहित काठमाडौँका एक तिहाइ मानिसको मृत्यु भएको इतिहासमा वर्णन गरिएको छ । विसं १९९० को शक्तिशाली भूकम्पमा परी हनुमानढोका दरबार क्षेत्रका ७० प्रतिशत सम्पदालाई क्षति पु¥याइएकामा विसं २००२ मा पुनःनिर्माण सम्पन्न भएको थियो । त्यस्तै २०७२ को गोरखा भूकम्पमा परी हनुमानढोका दरबार क्षेत्रका ९० प्रतिशत सम्पदा क्षतिग्रस्त भएको थियो ।

प्रमुख नकर्मीले भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषको थुप्रो पन्छाउने, मन्दिरमा रहेको महत्वपूर्ण सम्पत्ति, काठका सामान, टुँडालको संरक्षण तथा पुनःनिर्माणमा प्राचीन सम्पदामा रहेको बुट्टा कुँदेर बनाउनुपर्ने तथा पूर्ण रुपमा क्षतिग्रस्त भएको स्मारकको तस्बिर लिने, नक्शा बनाउने कामका कारण पुनःनिर्माण केही ढिलो भएको बताउनुभयो । उहाँले सरकार, हनुमानढोका हेरचाह अड्डा, पुरातत्व विभाग तथा जनसहभागिताबाट मात्र प्राचीन स्मारकलाई उठाउन सकिने भएकाले सबैको एकीकृत सहभागिता आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट बजेटको व्यवस्था हुने गरेको छ । प्रमुख नकर्मीका अनुसार दशअवतार र च्यासीँ देगःको पुनःनिर्माणका लागि रु एक एक करोड बजेट छुट्याइएको छ । गौतमबुद्ध वज्राचार्य/रासस

यसमा तपाइको मत

Loading...