नेपाल सदस्यमा निर्वाचित

काठमाडौँ, १ मंसिर  । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) को ग्लोबल बोर्ड सदस्य भएको २० वर्षपछि नेपाल सदस्यमा निर्वाचित भएको छ । सन् १९९७ मा नेपाल महासंघको सदस्य थियो ।

मलेसियाको क्वालालम्पुरमा नोभेम्बर १४ देखि १७ सम्म भएको ग्लोबल कँग्रेसको (आइसिए) को साधारणसभाबाट राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल निर्वाचित हुनुभएको हो ।

पूर्व सांसद मल्ल लामो समयदेखि सहकारी अभियानमा क्रियाशील हुनुहुन्छ । उहाँ राष्ट्रिय सहकारी महासंघको पहिलो महिला उपाध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँसँग राष्ट्रिय सहकारी विकास बोर्डको विज्ञ सदस्यका रुपमा नेपाल सरकारबाट नियुक्ति भई कार्य गर्नुभएको अनुभव छ । भारतबाट सहकारी शिक्षा तथा व्यवस्थापनमा डिप्लोमा लिने उहाँ नेपालको पहिलो महिला सहकारीकर्मी हुनुहुन्छ ।

राष्ट्रिय सहकारी महासंघ, ३४ हजारभन्दा बढी सहकारी संघसंस्था र ६० लाख सहकारीकर्मीको साझा संगठन हो । मल्ल अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय सहकारी महासंघले नेपालको सहकारी अभियानका लागि महत्वपूर्ण उपलब्धि भएको जनाएको छ ।

विश्व सहकारी अभियानसँग नेपालको सहकारी अभियानलाई जोड्ने अवसरका रुपमा यस विजयलाई लिइएको महासंघका महाप्रबन्धक रामभजन शाहले बताउनुभयो । अन्तर्राष्ट्रिय सहकारी महासंघ विश्व सहकारी अभियानको छाता संगठन हो । विश्वका ९५ देशका सहकारी अभियानका शीर्ष निकाय आबद्ध छन् । सहकारी संस्थाको मूल्य, मान्यता र सिद्धान्तको प्रतिपादन अन्तर्राष्ट्रिय सहकारी महासंघले गर्छ ।

भारतबाट सहकारी शिक्षा तथा व्यवस्थापनमा डिप्लोमा लिने उहाँ नेपालको पहिलो महिला सहकारीकर्मी हुनुहुन्छ भने उहाँले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । रासस

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...