एनआरएन रुसले दियो पर्वतको एक विकट गाउँलाई एम्बुलेन्स

पर्वत । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद रुसले पर्वतको एक विकट गाउँलाई एम्बुलेन्स प्रदान गरेको छ ।
पर्वतको बिहादी गाउँपालिका वडा नं.३ स्थित रानीपानी स्वास्थ्य चौकीलाई एनआरएन रुसले एम्बुलेन्स हस्तान्तरण गरेको हो । एम्बुलेन्स सेवा नहुँदा थुप्रै विरामीहरुले बाटोमै ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै प्रवासीहरुले रकम संकलन गरी २० लाख रुपैयाँभन्दा बढी पर्ने एम्बुलेन्स स्थानीय स्वास्थ्य चौकीलाई प्रदान गरिएको हो ।
अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने विकाट गाउँको बाध्यता अन्त्यका लागि अध्ययन, व्यापार र बैदेशिक रोजगारको सिलसिलामा प्रवासमा रहेका नेपालीहरुले रकम जुटाएर स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान गरिएको एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतमले जानकारी दिनुभयो । एम्बुलेन्स गउँपालिकाले व्यवस्थापन गरी मानवीय सेवाअन्तर्गत सञ्चालनमा ल्याइनेछ ।
आइतबार एक कार्यक्रमबीच पर्वत क्षेत्र नं.२ का सांसद विकास लम्साल, एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो,एन.आर.एन.रुसका अध्यक्ष रामेश्वर गौतमलगायतको टोलीले रानीपानी स्वस्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो ।
सांसद लम्सालकै पहलमा यसअघि पैंयु गाउँपालिकाको हुवास, महाशिला गाउँपालिकाको लुंख, फलेवास नगरपालिकाको पाङराङ र खानीगाउँ कुश्मा नगरपालिकाको ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा संचालनमा आइसकेको छ ।
एनआरएनका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतलगायतको टोली हेलिकोप्टरमार्फत एम्बुलेन्स हस्तान्तरण गर्न रानीपानी पुगेको थिए ।

एम्बुलेन्स प्राप्त भएपश्चात स्थानीयहरुको धेरै वर्षदेखिको माग र आवश्यकता पुरा भएको तथा आकस्मिक विरामीहरुका लागि समयमानै अस्पताल पु¥याउन सहज हुने रानिपानी स्वास्थ्य चौकीका अध्यक्ष सुर्य बहादुर थापाले बताउनुभयो ।
एम्बुलेन्स सेवा संचालन सँगै दक्षिण पर्वतको विहादि गाउँपालिका अन्तर्गत रानीपानी, बर्राचौर, वहाकी, उरामपोखरा तथा पैंयु गाउँपालिकाका बासिन्दा लाभान्वित हुने भएका छन् । उक्त क्षेत्रका बासिन्दाहरु सामान्य उपचारका लागि पनि स्याङ्जा, तथा पाल्पा जानुपर्ने बाध्यता रहेको छ ।

एम्बुलेन्स खरिदका लागि रुसको राजधानी मस्कोमा रहेर व्यवसाय गरिरहनु भएका एनआरएन आइसीसी सदस्य गोविन्द प्रसाद गौतमको संयोजकत्वमा समिति बनेको थियो । । समिति उपसंयोजकमा खेम लामिछाने रहनु भएको थियो । गाउँमा विरामीहरु अस्पताल पुग्न नपाएकै कारण अकालमा ज्यान गुमाउन बाध्य भएपछि गौतमले एनआरएन रुसको बैठकमा एम्बलेन्स खरिदका लागि प्रस्ताव राख्नु भएको थियो। पर्वत निवासी गौतमको पहलमा रानीपानी स्वास्थ्य चौकीले एम्बुलेन्स पाएपछि स्थानीय हर्षित बनेका छन् ।
भूकम्प पीडितहरुका लागि गैरआवासीय नेपाल अभियानले संकलन गरेको रकमबाहेक पनि आफ्नो गाउँका लागि छुटटैै सहयोग गर्नुभएको थियो। गौतमको पहलमा पर्वतमा यसअघि पनि विद्यालय निर्माणदेखि क्याम्पस संचालनसम्मका लागि विभिन्न सामाजिक काम भएको बताइएको छ । कार्यक्रममा संयोजक गौतमले आफू विदेशमा रहेर पनि आफ्नो देश र गाउँका लागि केही गर्न सकेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले एम्बुलेन्स गरिदमा सहयोग गर्नुहुने सबै गैरआवासीय नेपालीहरुलाई धन्यवाद ज्ञापनसमेत गर्नुभयो ।

गैरआवासीय नेपाली संघ रुसले स्थापनाकालदेखि नै देशका विभिन्न गाउँमा विभिन्न समाजिक काम गर्दै आएको छ ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...