पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु

सुर्खेत, २९ साउन । लगातार अविरल वर्षासंगै पहिरोले घर बगाउँदा सुर्खेतमा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
सदरमुकाम वीरेन्द्रनगरदेखि पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गुर्भाकोट–६ का ८३ वर्षिय गुमानसिं बुढा, उहाँका १४ वर्षिय नाती विक्रम बुढा र १२ वर्षिय सरन बुढाको मृत्यु भएको छ ।
गएराति १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ । पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आइतबार विहान निकालेको थियो ।
यता, रत्नराजमार्गको हर्रे–कोहलपुर सडक खण्डमा पहिरो जाँदा सवारी आवागमन बन्द भएको छ । भेरीगंगा नगरपालिकाको हर्रे नजिकै गएराति पहिरो गएको हो । सुर्खेत प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि यात्रुहरुको विचल्ली भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास विहानैबाट शुरु भएको छिन्चु प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...