संवैधानिक परिषदमा कुरा मिलेन, बैठक निष्कर्षविहीन

काठमाडौ, ५ असार । सर्वोच्चमा रिक्त प्रधानन्यायाधीश सिफारिसका लागि बसेको संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।
सिंहदरबारमा सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले अध्ययन गर्न बाँकी रहेको बताएपछि परिषदले प्रधानन्यायाधीश सिफारिस गर्न नसकेको हो । संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानन्यायाधीशका दाबेदार गोपाल पराजुलीको उमेर र शैक्षिक योग्यता विवादबारे अध्ययनका लागि समय आवश्यक रहेको बताउनुभएको थियो । अर्को बैठक असार १५ गतेका लागी बोलाईएको उपसभामुख गंगाप्रसाद यादवले जानकारी दिनुभयो ।
जेठ २४ गते प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाश पाएपछि न्यायलयको सर्वोच्च प्रशासन कायम मुकायमको भरमा छ । कायम मुकायम प्रधानन्यायाधीशका रुपमा वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीले गरिरहनुभएको छ ।
न्याय परिषदले जेठ ३० गते प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो । रोष्टरमा नाम सामेल भएकामध्ये न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठले अवकाश पाईसक्नुभएको छ ।
अर्को बैठकमा अब वरिष्ठतम न्यायाधीश पराजुली, न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, जगदिश शर्मा पौडेलमध्येबाट प्रधानन्यायाधीश सिफरिस हुनेछ । प्रचलन अनुसार वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने परम्परा छ।
परम्परा अनुसार सिफारिस भएमा न्यायाधीश पराजुली भावी प्रधानन्यायाधीशमा सिफारिस हुनेछन् । सिफारिस प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सकिएपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...